काठमाडौँ – सरकारले इजरायलमा जोखिममा रहेका नेपालीलाई उद्धारका लागि प्रक्रिया सुरु भइसकेको जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले युद्धका कारण जोखिममा परेर नेपाल फर्कन चाहनेहरूको सूची तयार भइसकेपछि विमान इजरायल पठाउने जानकारी दिए ।
गत शनिबारहमासले गाजा क्षेत्रबाट इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो भने दर्जनाै अलपत्र परेका समाचारहरु अाइरहेका छन् ।
मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको आकस्मिक बैठकले इजरायलमा रहेका नेपालीको सुरक्षा, उद्धार र शव ल्याउने प्रक्रिया तुरुन्त अघि बढाउने निर्णय गरेको थियो ।
नेपाल फर्कन चाहने नेपालीलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने पनि मन्त्रिपरिषद्को विशेष बैठकले निर्णय गरेको छ ।
सरकारले उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सोमबारको बैठकले निर्णय गरेको छ । इजरायलमा करिब ४ हजार ५ सय नेपाली रहेका छन् ।







