काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएका हुन्।
निगमले आजै एक वक्तव्य जारी गरी पछिल्लो मूल्यवृद्धि फिर्ता लिने कानुनमन्त्री धनराज गुरूङले बताए। गुरूङका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री दाहालले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिएका छन्।
प्रधानमन्त्री ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक मूल्यवृद्धिको कारण बताउँदै (रास्वपा)ले बहिष्कार गरेको जनाएकाे थियाे ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोपसमेत लगाए।
“आयल निगम पेट्रोलियम पदार्थ आफै आयात गर्छ, आफै व्यापार गर्छ र नियमन पनि आफैँ गर्छ”, उनले भने, “कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैँ घाटामा रहन्छ। देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो?”
प्रधानमन्त्रीको आदेशपछि आजै राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोलियम पदार्थमा हिजो बढाएको मूल्य फिर्ता हुने जनाएको छ।







