काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। प्रधानमन्त्री दाहाललाई भेट्न ओली आइतबार बिहान बालुवाटार पुगेका हुन्।
सुन तस्करी प्रकरणमा सरकारले छानबिन समिति गठन नगरेको भन्दै एमाले आक्रोशित छ। उसले संसदबाटै हिसाबकिताब गर्ने भन्दै संसद अवरोधको चेतावनी दिएको छ। एमालेका सचेतक महेश बर्तौलाले सरकारले विपक्षीको आवाज नसुनेको भन्दै संसदबाटै हिसाबकिताब गर्ने चेतावनी दिएका छन्।
गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेटबाट समातिएको ६० किलो सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तिरीय छानबिन समिति बनाउने माग गरिरहेको तर गत असोज ५ गते नै समिति बनाउने सहमति भए पनि सरकार र प्रतिपक्षबीच कुरा नमिल्दा १० दिन बित्दा पनि छानबिन समिति बनेको छैन।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। ओली र दाहालबीच छानबिन समितिका बारेमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री दाहालले आज राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच पनि छलफल गर्दैछन्।







