काठमाडौँ – संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको बिहीबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरुले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरे ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरे।
राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शवयात्रा आर्यघाट ल्याइएको थियो। नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको छ।
यही भदौ २६ गते हृदयाघातका कारण निधन भएका नेम्वाङको अन्त्येष्टि हुने दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ।
नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।
नेम्वाङको हिन्दू र किराती परम्पराअनुसार दाहसंस्कार गरिएको हो।







