काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले मर्माहत भएको बताएका छन्।
उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्ना उपाध्यक्ष अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ प्रतिक्रिया दिएका छन्।
‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौँ’, मंगलबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै बिर्सने छैनौँ । आदरणीय नेता सुवास नेम्वाङज्यू।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन्।
‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट मर्माहत भएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् ।
‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ उनले लेखेका छन्।
संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।







