काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्साबारे धारणा राख्न सुझाव दिएको छ ।
आज आइतवार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा पार्टीको तर्फबाट सहभागी हुनुभएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली नागरिकले थाहा पाउने गरी नक्साको बारेमा चीनसँग देशको तर्फबाट धारणा राख्न सुझाव दिएको बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा सात बुँदा लिखित सुझाव दिएको पनि बताउनुभयो । बैठकमा पार्टीको तर्फबाट चीनसँगकाे नाका खुलाउने बारेमा जोड दिन आग्रह गरेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको अमेरिका, चीन भ्रमणको विषयमा हामीले लिखित रूपमा सात बुँदे सुझाव दिएका छाैँ । नक्साकाे विषय पनि हामीले चासोका साथ जानकारी गराएका छौँ । नागरिकले थाहा पाउने गरी देशको नक्साकाे विषय राख्नुपर्छ भनेका छौँ । नाका खुला गर्ने विषयमा ध्यान दिन आग्रह गरेका छौँ ।’
पार्टीका उपाध्यक्षसमेत रहनुभएका अर्यालले प्रधानमन्त्रीको भ्रमणमा अनुशासनको बारेमा ध्यान दिन पनि आग्रह गरेको बताउनुभयो ।







