काठमाडौँ – आइतबार बोलाइएको राष्ट्रिय सभाको बैठक एजेन्डा नै नभएपछि संसद् सचिवालयले सूचना जारी गरेर बैठक स्थगित गरेको छ । बैठकका लागि एजेन्डा नभएपछि प्रतिनिधिसभाको बैठक पनि एक सातापछि मात्रै बस्ने गरी मिति तय गरिएको छ ।
राष्ट्रिय सभामा अहिले जम्मा ३ वटा विद्येयकहरु मात्रै रहेका छन्। अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन पेस भइसकेको छ ।
तर गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेको र अध्ययन गरेर खबर नगरेका कारण कार्यसूचीमा राख्न नसकेको सचिवालयले जनाएको छ। यो विधेयक पारित गर्न मात्रै बाँकी छ ।
विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन । राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा गएका ८ वटा विधेयक पनि फिर्ता आएका छैनन्। जसका कारण एजेन्डा नै नभएपछि बैठक सारिएको हो।
प्रतिनिधिसभा बैठक पनि एजेन्डा विहीन छ । जसका कारण शून्य र विशेष समयमा सांसदले बोल्ने र मन्त्रीसँगको प्रश्नोत्तरका कार्यक्रम मात्रै चलिरहेका छन्।







