काठमाडौँ – सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुलमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सिआइबीलाई पाँच दिनको समय दिएको छ।
आज अदालतमा पेश गरिएका राहुलमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको प्रहरी प्रबक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए। ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका किशोर बस्नेतलाई पनि पाँच दिनको म्याद थप भएको उनले बताए।
उनीहरुसहित गणेश पौडेललाई पनि दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो। पौडेललाई केही अघि पक्राउ गरिए पनि आज मात्रै घटना सार्वजनिक भएको हो।
प्रहरीले ६१ किलो सुन तस्करी प्रकरणमा पौडेल र बस्नेतलाई पक्राउ गरेको हो। ६१ किलो सुन तस्करी प्रकरणमा उनीहरुसहित अहिलेसम्म २५ जना पक्राउ परेका छन्। उनीहरुमाथि सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ।
यस्तै विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणका लागि राहुल महरालाई आज सिआइबीले पक्राउ गरेको हो। राहुलले भने आफैँ सिआइबीमा गएको फेसबुकमार्फत सार्वजनिक गरेका छन्। गत वर्ष भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको घटना भएको थियो।
सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ। पौडेलले भन्सारमा बसेर तस्करहरुलाई सहयोग गरेको तथ्य खुलेको प्रहरीले दावी गरेको छ। अर्का किशोर बस्नेत भने यसअघि पक्राउ परेका दावा छिरिङका सहयोगीका रुपमा काम गरेको पाइएको छ।







