काठमाडौँ – अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन्। उनी सेप्टेम्बरको पहिलो साता काठमाडौं आउन लागेका हुन्।
सिनेटर भ्यान होलेनको कार्यालयले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नेछन्। उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय साँस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ।
उनले नेपालमा अमेरिकाको सहयोगको बारेमा समेत छलफल गर्नेछन्। खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ। भ्रमणको क्रममा सिनेटर क्रिसले बृहत्तम विषयमा र सामूहिक सुरक्षाको चासोको विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको जनाइएको छ ।
यसैगरी आर्थिक अवसर, जलवायु परिवर्तनको असर, मानव अधिकारको रक्षालगायतका विषयमा विस्तृतरुपमा छलफल हुनेछ । सिनेटर होलेनले यो भ्रमणले त्यस क्षेत्रका देश र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा रहेको बताएका छन्।
सिनेटर क्रिसको कार्यालयका अनुसार उनको यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबुत र अर्थपूर्ण साझेदारी हुनेछ। नेपाल, श्रीलङ्का र माल्दिभ्सको भ्रमणमा निस्कन लागेका होलेनको आठ दिने भ्रमणका क्रममा ५० भन्दा बढी बैठकमा सहभागी हुने जनाइएको छ ।
होलेन अमेरिकाको डेमोक्र्याट पार्टीका प्रभावशाली सिनेटर हुन्।







