काठमाडौैँ – काठमाडौैँ बाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ राजमार्गबाट करिब ४० मिटर तल खसेको धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।
साँधुरो र घुम्ती मोडमा ओभरटेक गर्ने क्रममा बस नदीमा खस्न गएको प्रहरीले अनुमान गरेको छ । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर त्रिशूलीमा खसेको अनुमान गरिएको छ ।
“बस खसेको ठाउँ साँघुरो छ, ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने हामीले अनुमान गरेका छौँ,” एसपी मिश्रले भने, “काठमाडौंबाट आएको बस बायाँ (भित्तातर्फ)बाट हुँदै आउने भए पनि ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दायाँ (छेउ)तर्फ त्रिशूलीमा खसेको हुनसक्छ ।”
नदीबाट २३ जनाको उद्धार गरिएकोमा आठजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाँकी १५ जनाको स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको एसपी मिश्रले जानकारी दिए ।
नदीको बहाव बढेका कारण केहीलाई बगाएको हुनसक्ने अनुमान गरिएको भए पनि सम्भावना कम देखिएको प्रहरीले जानकारी गराएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि सो क्षेत्रमा खोजी गरिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।
‘‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु ।’’
प्रधानमन्त्रीले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशनसमेत दिनुभएको छ ।







