काठमाडौँ – नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसित उनले शपथ लिएकी हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी जनमत पार्टीकी सांसद हुन् ।
असार २६ गते नै जनमतले अनितादेवीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो। तर, प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण शपथग्रहणको समय सरेको थियो। यसअघि पनि जनमतबाट उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री थिए। तर, उद्योग र कृषिमध्ये एक मन्त्रालय नपाएको भन्दै उनले चैत १७ गते राजीनामा दिएका थिए।
शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो।
यसअघि, नेकपा (माओवादी केन्द्र)का तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो ।







