ओखलढुंगा – मुन्दुमसम्बन्धी पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ (संस्कार संस्कृति) प्रकाशित भएको छ । किरात बायुङ राई सुम्निखिम संस्थाले शनिबार गरेको समारोहमा राष्ट्रियगानका रचयिता ब्याकुल माइलाले पुस्तक सार्वजनिक गरेका हुन् ।
सिद्धिचरण नगरपालिका–११ निवासी ७७ वर्षीय बुद्धिकुमार बायुङ राईको पुस्तकमा सृष्टिको कथा, जन्मदेखि मृत्युपर्यन्तसम्मका बायुङ समुदायको संस्कारमा प्रयोग हुने मुन्दुम रिसियाको व्याख्या बायुङ र नेपाली भाषामा गरिएको छ । लेखक राई बायुङ समुदायको न्वाक्सो (पुजारी) तथा मुन्दुम विज्ञ हुन् । उनको यसअघि ‘किरात बाहिङ (बायुङ) तुम्लो’, ‘मुलुमी’ र ‘नक्सो’ मुन्दुम कृति प्रकाशित छन् ।
२४३ पृष्ठको पुस्तकको प्रकाशन लेखक स्वयंले गरेका हुन् । लेखक यायोक्खा ओखलढुंगाका संस्थापक अध्यक्ष तथा अवकाश प्राप्त भारतीय सेना हुन् । नेपालमा बायुङ भाषा बोल्नेको संख्या १४ हजार ४ सय ४९ छ ।







