काठमाडौँ – शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलीज इन्टरटेनमेन्टले शाहरुख खान अभिनीत आगामी फिल्म जवानका केही क्लिप लीक भएको भन्दै एफआईआर दर्ता गरेको छ । मुम्बईको सान्ताक्रूज पुलिस स्टेशनमा सूचना प्रविधि ऐन अन्तर्गत एफआईआर दर्ता गरिएको हो।
रिपोर्टका अनुसार एफआईआरमा जवानका क्लिपहरू अनलाइन सेयर गरिएको आरोप लगाएको छ। प्रोडक्सन हाउसले यो पनि भन्यो कि लीक क्लिपहरूले चलचित्रका कलाकारहरूको लुक, साथै संगीतको गोपनियता सार्वजनिक गरेको छ । यस्ता सामाग्रीहरु सामान्यतया फिल्मको मार्केटिङको समयमा मात्र खुलासा गरिन्छ।
जवानका क्लिपहरू अनलाइन लीक भएको यो पहिलो पटक भने होइन। गत अप्रिलमा पनि दिल्ली उच्च अदालतले सामाजिक सञ्जालहरू, वेबसाइटहरू, केबल टिभी आउटलेटहरूलाई जवानको लीक भिडियोहरू हटाउन निर्देशन दिएको थियो
जवानको सुटिङका क्रममा पनि रेड चिलीज इन्टरटेनमेन्टले सेटमा मोबाइल फोन र रेकर्डिङ डिभाइसमा प्रतिबन्ध लगाएको थियो ।
जवान एटलीद्वारा लेखिएको र निर्देशन गरिएको फिल्म हो र यसमा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा र रिद्धि डोग्रा पनि मुख्य भूमिकामा छन्। फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिनेछिन् । फिल्म सेप्टेम्बर ७, २०२३ मा सिनेमाघरमा रिलिज हुने बताइएको छ।







