काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्याका बारेमा छलफल नगरेर आफ्नाकुरा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् ।
आइतबार विशेष पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले विभिन्न नेताहरूलाई भँजाएर एमालेभित्रको विवाद झिक्न खोजिएको आरोप लगाएका हुन्। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएको विषयमा समेत आपत्ति जनाए। अध्यक्ष ओलीले आफू हुञ्जेल पार्टी टुक्राटुक्रा हुने हल्लाको पछाडि नलाग्नसमेत आग्रह गरे। ‘अोली छउञ्जेलसम्म पार्टी टुक्राटुक्रा हुन्छ रे। दुनियाँ लाग्दा एमालेलाई सकेन। अब कसले भनेका कुरा..। खुद्रा मसिना कुरा टिपेर के हिँड्नुभएको छ? अलिक गतिला कुरा टिप्नुस न,’ उनले भने।
देशभर पछिल्ला दिनमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण कति क्षति भयो, जनता कहाँ कहाँ अप्ठेरोमा परेका छन् भन्ने विषयमा आफ्ना प्रतिनिधिले जनप्रतिनिधिथलोमा कुरा राख्नसम्म पनि पाएका छैनन् ।
डेंगुको महामारी छ, नागरिक खुम्चिदो अर्थतन्त्रका कारण संकटमा पर्दै गएका छन् तर जनप्रतिनिधिमुलक थलो संसद् प्रमुख प्रतिपक्षका कारण रोकिएको छ । जनताका प्रतिनिधिले जनताका समस्याका बारेमा छलफल गर्न पाएका छैनन् ।
ओलीले अहिले पनि दैनिकरुपमा विमानस्थलबाट सुन तस्करी भइरहेको दाबी गर्दै भने, “अहिले पनि तस्करी भइरहेको छ । यति मजाले सुन वारपार भइरहेको बेलामा प्रतिपक्षले बोल्ने भन्दै संसद्मै एमालेको विरोध हुन्छ । यस्तो अवस्थामा सरकारले राजीनामा गर्नुपर्ने थियो । बानी परे पछि लाज हुँदैन भन्ने बीरवल अकबरको कथा छ ।”
उनले सुन तस्करी महातस्करी काण्ड भएको उल्लेख गर्दै भने, “अनि हामी संसद् चल्यो कि चलेन भन्नेमा अल्झिएका छौँ । हामी बोल्न खोज्यो सत्तापक्षले उठेर विरोध गर्छ । यहाँ भ्रष्टाचारको कुरा गर्न पाइन्छ ? भन्छन् । २, ४ क्विन्टल सुन ल्याउँदा हल्ला गर्न पाइन्छ ? बोल्न पाइन्छ ? भन्छन् । हामीले होइन सदन अवरोध गरेको सत्तापक्षले नै हो ।”
उनले यस्तो अवस्थामा गृहमन्त्री र अर्थमन्त्री कसरी सरकारमा बस्न सकेको ? भन्दै प्रश्न गरे । संसद्मा अहिले पनि ९३ वटा विधेयक विचाराधीन अवस्थामा छन् । चालु अधिवेशनबाट एकमात्रै विधेयक पारित भएको छ भने १५ विधेयक अलपत्र अवस्थामा छन् । तर संसद् चल्न सकेको छैन ।







