काठमाडौँ – आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि पर्न थालेको छ।देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्। आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेसँगै हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका हुन्, तर त्यसको मापदण्ड तय भइसकेको छैन।
आँखा पाक्ने समस्या देशव्यापी बन्दा प्रमुख आँखा अस्पतालमा ७० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने समस्याले आउने गरेका छन्। तीमध्ये ५० प्रतिशत १५ वर्षमुनिका छन्। काठमाडौँ उपत्यकामा यो समस्या केही कम देखिए पनि उपत्यकाबाहिर भने ७० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको छ।
नेपाल नेत्रज्योति सङ्घ मातहतका आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउनेमध्ये ५० देखि ७० प्रतिशत बिरामी आँखा पाक्ने समस्याका आउने गरेको बताइएको छ।
यस्तै विराटनगर आँखा अस्पतालमा दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म आँखा उपचारका लागि आउने गर्छन्। तीमध्ये ५० प्रतिशतमा आँखा पाक्ने समस्या छ। अस्पतालका निर्देशक सुधीर ठाकुरले आँखा पाक्ने रोगका कारण अस्पतालमा बिरामीको चाप बढेको र सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको बताउनुभयो।
देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्।नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सूचना जारी गरेर सो रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न आग्रह गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हवाई आवागमनलाई लक्षित गरेर कुनै आधिकारिक मापदण्डसहितको निर्णय सार्वजनिक गरेको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई कम्पनीले आफूखुसी स्वास्थ्य परीक्षण रिपोर्ट खोज्न थालेपछि यात्रुलाई अन्योल र सास्ती हुन नदिन स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्यसम्बन्धी मापदण्ड कार्यान्वयनका लागि कुनै निर्देशन जारी नभएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “कस्तो अवस्थाका यात्रुलाई उडानमा सहभागी हुन दिने ? कहाँ स्वास्थ्य परीक्षण गराउने ? परीक्षण शुल्क कति लिने ? लगायतका विषय मन्त्रालयसँग छलफल भइरहेको छ।”







