संखुवासभा – जिल्ला प्रहरी कार्यालय संखुवासभाले कारागारमा भएको कैदी हत्याको घटनामा संलग्नमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले शनिबार विज्ञप्ति निकालेर कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
मृत्यु हुनुअघि दुई जना कैदीबन्दीलाई कारागारभित्र राखेपछि फेरि कुटपिट गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । मृतकका आफन्तले जिल्ला कारागारमा भएको घटनामा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध शनिबार प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
कारागार संखुवासभामा बुधबार बिहान कैदीबन्दी संखुवासभा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।
मादी नगरपालिका–५ का प्रकाश तोलांगीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मी लगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको डीएसपी वीरेन्द्र गोदारले बताए । तोलांगी र बलामीको मृत्यु भएपछि पीडित पक्षले शवको पोष्टमार्टम नगरी प्रहरीको विरोध गर्दै आएका थिए । पीडित पक्षले शवमा रडले कुटपिट गरेको र शरीरभर निलडाम देखिएको भन्दै आएका थिए । त्यसैले पनि हत्या भएको उनीहरूको दाबी थियो ।







