काठमाडौँ – चीन सरकारले बालबालिकालाई लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्न रोक लगाउने नियम बनाएको छ।
चिनियाँ इन्टरनेट नियामक निकायले साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले गत बुधबार आफ्नो साइटमा यस सम्बन्धमा मस्यौदा सार्वजनिक गरेको छ। बालबालिकामा मोबाइलको लत बढेको भन्दै चीनले यस्तो निर्णय लिएको हो।
देशको शीर्ष इन्टरनेट नियामकले बुधबार जारी गरेको प्रस्तावमा सबै मोबाइल उपकरणहरू, एपहरू र एप स्टोरहरूलाई माइनर मोडमा निर्मित हुन आवश्यक रहेको जनाएको छ । जसले दैनिक स्क्रिन समय अधिकतम दुई घण्टामा सीमित गर्ने गरि तयारी थालिएको छ।
मस्यौदाअनुसार नाबालिगले राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइलमा इन्टरनेट चलाउन पाउने छैनन्।
नयाँ नियममा आठ वर्षमुनिका बालबालिकालाई ४० मिनेट मात्र स्मार्टफोन चलाउन दिइनेछ। ८ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दैनिक एक घण्टा मात्र स्मार्टफोन प्रयोग गर्न दिइनेछ। त्यसैगरी १६ देखि १८ वर्षका किशोरकिशोरीले दिनमा दुई घण्टा मात्र इन्टरनेट चलाउन पाउनेछन्।
नाबालिगहरूको शारीरिक र मानसिक विकासका लागि उपयुक्त ठानेका एप्स र प्लाटफर्महरू जस्ता केही सेवालाई यसमा छुट दिइनेछ। कुन कुन इन्टरनेट सेवालाई छुट दिइने भन्ने खुलाइएको छैन।
संस्थाको यो कदमले सामाजिक सञ्जाल र अनलाइन गेम सञ्चालन गर्ने ‘टेनसेन्ट’ र ‘बाइट डान्स’ जस्ता कम्पनी स्तब्ध बनेका छन्।
सीएसीले सेप्टेम्बर २ तारिखसम्म मस्यौदा दिशानिर्देशमा आफ्नो सुझाव दिन आह्वान गरेको छ। नयाँ नियम कहिलेदेखि लागू हुने भन्ने स्पष्ट पारिएको छैन।
मोबाइलको अत्यधिक प्रयोगले विश्व त्रसित छ। बच्चाहरू मोबाइलमा घण्टौंसम्म गेम खेल्छन् र भिडियोहरू बनाउँछन्। यो विषयमा विज्ञहरूले प्रश्न उठाउँदै आएका छन्। यसै कारण बालबालिकालाई मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउन माग भइरहेको छ।







