काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जानुहुने भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ७ गते इटाली जान लागको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनी इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको शर्माको भनाइ छ। उक्त भ्रमण कृषिमन्त्री वेदुराम भुसालसहितसहित २० सदस्य रहनेछन्।
मन्त्री शर्माका अनुसार प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालसमेत सहभागी हुनुहुनेछ ।
मन्त्री शर्माका अनुसार कम्पनी दर्ता पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय पनि बैठकले गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको हो ।
यसैगरी, बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा त्यहाँ कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।







