काठमाडौँ- नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर बिसर्जनमा रोक लगाएका छन्।
यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जन गर्न रोक लगाएका हुन्।बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई अवरोध गरिएको छ।
फोहोर बोकेका करिब ५० वटा गाडी स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका ल्याण्डफिल्ड साइट इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिए ।
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि सोमबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन्।
ककनी गाउँपालिका ३ का वडाध्यक्ष घननाथ बजगाईंले फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरुले पटक पटक राखेको माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको बताए।
वडाध्यक्ष बजगाईंसहितको जनप्रतिनिधिको टोली र स्थानीयवासीले अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आन्दोलनमा उत्रिएका हुन्।
केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो। तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने बताएका छन्।







