काठमाडौँ- सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेनसहित छ जनाको मृत्यु भएको छ । माउन्टेन फ्लाइटमा गएर काठमाडौं फर्किँदै गर्दा उक्त हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
मङ्गलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना भएको थियो ।
हेलिकोप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । हिजो माउन्टेन फ्लाइटमा गएको हेलिकोप्टर लुक्लामा बसेर त्यहाँबाट फर्किँदै गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँच जना मेक्सिकाेका नागरिकको मृत्यु भएको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकाेका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन् ।
मृतकको शव काठमाडौं लैजनका लागि हेलिकोप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकोप्टर दुर्घटना स्थल पुग्न सकेको छैन ।
अल्टिच्युट एयरको दुई हेलिकप्टर अहिले भकान्जे चौरमा अवतरण गराएर राखिएको र मौसममा सुधार हुनासाथ घटनास्थल पुग्ने प्रजिअ भट्टराइको भनाइ छ ।







