काठमाडौँ – रसुवाबाट नागरिकता लिएका व्यक्तिले मात्र चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने भएका छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा व्यापार गर्न तथा त्यस क्षेत्रमा आवतजावत गर्नका लागि उपलब्ध हुँदै चाइना पासलाई थप व्यवस्थित गराउनका लागि उक्त प्रकिया अघि बढाइएको हो।
यसअघि अध्यागमन कार्यालयले बसाइसराइका आधारमा पनि उक्त पास दिँदै आएको थियो। बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी पास बनाउन थालेको गुनासो आएपछि गोसाइँकुण्ड गाउँपालिकाले नेपाली नागरिकतामा रसुवाको स्थायी ठेगाना उल्लेख भएका व्यक्तिजलाई मात्र सिमापासका लागि पास दिन अध्यागमन कार्यालय टिमुरेलाई अनुरोध गरेको छ।
रसुवागढीलाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय सरकारकोतर्फबाट पहल चालिएको गाउँपालिकालका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए।
रोजगारीका लागि धेरै सम्भावना रहेकाले केरुङ जानका लागि जिल्लाका करिव १३ हजारले चाइना पास बनाएका छन्। थोरै खर्चमा धेरै आम्दानी हुने, आवतजावत गर्न सहज र राहदानी बनाउनुपर्ने झन्झट नहुने भएपछि पछिल्लो समय त्यहाँ जानेको संख्या बढेको छ।







