काठमाडौँ – अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘उपहार’ निर्माण गर्ने भएकी छन् । कपनगढी ब्यानरमा रेखा फिल्म्सले निर्माण गर्न लागेको फिल्मको निर्देशन ज्ञानेन्द्र देउजाले गर्दै छन् ।
लभस्टोरी र सोसल ड्रामा ‘उपहार’ मा रेखासँगै पूजा शर्मा र सुलभ प्रतीक देउजाले अभिनय गर्ने जनाइएको छ । अन्य कलाकार तय हुन बाँकी छ । डेढ करोड रुपैयाँमा निर्माण हुने फिल्ममा रेखा र ज्ञानेन्द्रले लगानी गर्दै छन् । फिल्मको छायांकन केही दिनमा सुरु हुने जनाइएको छ ।
यसअघि गुरुपूर्णिमाका अवसर पारेर फिल्मको गीत रेकर्ड गरिएको थियो । एलिना चौहान र बाबुल गिरीको स्वरमा रेकर्ड भएको गीतमा बाबुलले संगीत भरेका हुन् । एलिनाले फिल्मका लागि गाएको पहिलो गीतको शब्द शंकर अधिकारीले लेखेका हुन् । फिल्ममा रहने अन्य तीन गीतमा भने अर्जुन पोखरेलले संगीत भर्ने जनाइएको छ ।







