काठमाडौँ – सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ। सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान भएको छलफलमा चाँडै संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपश्चात सभामुख घिमिरेले जतिसक्दो चाडो टुंगो लगाउने सहमति भएको जानकारी दिए। ‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ।’ घिमिरेले भने, ‘छिट्टै नै समितिले नेतृत्व पाउँछ। समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ। ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न सकेका छैनन्।’
उनले संसदीय गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउने बारेमा पनि छलफल भएको बताए।
यसैगरी कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि छिटोभन्दा छिटो सभापति चयन गर्ने भन्ने सहमति भएको बताए। उनले लामो समयदेखि रिक्त रहेको सभापति पदपूर्ति गरेर अगाडि बढ्ने सहमति भएको छ। यस अगाडिको सहमति अनुसार नै दलहरुले समितिमा सभापति पाउनेछन्।
संसदीय समितिका सभापति चयनमा देखिएको गाँठो फुकाउन सभामुख घिमिरेले पहल थालेका हुन्। वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक-पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई बोलाएका हुन्।







