विराटनगर – कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
एक महिनाअघि सत्ता गठबन्धनमा रहेको माओवादी र जसपाले एमाले सरकारलाई दिएको फिर्ता लिएपछि कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मतको प्रस्ताव राखेका थिए । शुक्रबार भएको मतदानमा कार्कीले ९३ सदस्यीय प्रदेश सभामा बहुमतका आवश्यक पर्ने ४७ मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो । प्रदेशसभामा शुक्रबार उपस्थित ८९ सांसदमध्ये विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । जनता समाजवादी पार्टीकी प्रदेश सांसद निर्मला लिम्बूका साथै प्रतिपक्षी दलका थप दुई गरी तीन जना प्रदेश सांसद अनुपस्थित रहे ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि बन्ने नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्नेमा पनि दलहरूभित्रको आन्तरिक प्रतिस्पर्धाले अन्योल छ । गठबन्धन दलमध्ये २९ जना सांसद रहेको कांग्रेस र सभामुखसहित १३ सांसद रहेको माओवादीबीच सरकारको नेतृत्वका विषयमा रस्साकसी चलिरहेको छ । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले नयाँ सरकारको नेतृत्व कसले गर्ने विषय टुंगिन बाँकी रहेको बताए ।
माओवादी केन्द्रका कोशी प्रदेश इन्चार्ज राम कार्कीले प्रदेशको समग्र स्थितिले नयाँ बन्ने प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउनुपर्ने अवस्था रहेको दाबी गरेका छन् । ‘अन्य प्रदेशमा कांग्रेसको नेतृत्व माओवादीले सहर्ष स्विकारेको अवस्थामा कोशी प्रदेश सरकारको नेतृत्व माओवादीले पाउनुपर्छ,’ उनले भने, ‘प्रदेशमा भइरहेको आन्दोलन र अन्य दलको समर्थनले पनि माओवादीले सरकारको नेतृत्व पाउनुपर्ने माग हामीले राखेका छौं ।’
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीको पक्षमा छन् । कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । एक सांसद मात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।







