काठमाडौँ – देशका ७६ वटा जिल्लामा गाईवस्तुमा लाग्ने रोग ‘लम्पी स्किन’ फैलिएको छ । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मनाङबाहेक सबै जिल्लामा यो रोग फैलिएको जानकारी दिए । विभागका अनुसार देशभर यो रोगका कारण २५ हजार ४०८ पशु मरेका छन् ।
‘हालसम्म संक्रमित ६ लाख ८२ हजार ८० पशुमध्ये ४ लाख ९ हजार १७५ निको भइसकेका छन् भने २ लाख ४७ हजार ४९७ पशु संक्रमित छन्’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । क्रमिक रुपमा यो रोग नियन्त्रणउन्मुख रहेको सूचना अधिकारी ढकालले बताए ।
‘प्रभावित पशुको उपचारको लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासति प्राविधिक परिचालन गरिएको छ’ विभागले भनेको छ ‘खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरी हालसम्म ७ लाख ३७ हजार डोज खोप सातवटै प्रदेशका १ लाख ७२ हजार १२८ पशुमा लगाइएको छ ।’ आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रत्येक स्थानीय तहमा यो महामारी नियन्त्रणका लागि संघीय सशर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन गरिएको छ ।
नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईगोरुमा रोग देखा परेको विभागले जनाएको छ । रोगबाट हाल कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी प्रभावित भएका छन् । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् ।







