काठमाडौँ – आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस। नेपालमा विविध कार्यक्रमका साथ औपचारिक रुपमा २०औँ धान दिवस मनाइँदै छ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। यस वर्ष जलवायु अनुकुलित कृषकमैत्री प्रविधि धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाउन लागिएको हो।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
किसान वर्षभरका लागि छाक जुटाउन असार महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन्।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।
पखाला लागेका बेला दहीच्यूरा खाएमा औषधिको काम गर्छ। यसैले दहीच्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।







