काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेका छ ।
अमेरिकी ‘सिटिजनशिप’ त्यागेको निस्सा नबुझाई नागरिकता प्राप्त गरेकाले पुन: रवि लामिछानेको सांसद पद खारेज गर्नुपर्ने मागसहित परेको रिट संवैधानिक इजलासले बुधवार खारेज गरिदिएको हो ।
संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट संवैधानिक इजलासबाट खारेज भएको हो । उक्त रिटमाथि यसअघि एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।
अघिल्लोपटक नागरिकता अवैध ठहर भएर रवि सर्वोच्चबाटै पदमुक्त भएका थिए । वैशाख १० मा भएको उपनिर्वाचनपछि निर्वाचित भएर रवि पुन: संसदमा आएका हुन् ।
अहिले पनि उनी सांसद पदमा रहन अयोग्य रहेको भन्दै युवराज सफलले निर्वाचन आयोग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सम्मिलित संवैधानिक इजलासले रिट खारेजीको फैसला गरेको हो ।







