काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुन र लोकतन्त्रको सर्वोच्चता प्रमाणित गरेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ’ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको बताएका हुन् ।
‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ,’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्रीले यसलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिनेसमेत प्रतिबद्धता जनाए ।
त्यस्तै प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको बताए । वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको उनको भनाइ छ ।
‘बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र। म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डुंगुर भत्काइछाडिनेछ। लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ, ’ उनले भने ।







