काठमाडौँ- काठमाण्डाै महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएकाे छ । आइतवार महानगरकी उपमेयर सुनिता डंगाेलले नगरसभाकाे बैठकमा आउँदाे आर्थिक वर्षका लागि २५ अर्ब ५४ कराेड रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभयाे ।
बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार (३३ दशमलव ७२ प्रतिशत) र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ (६६ दशमलव २८ प्रतिशत) विनियोजन गरिएको छ ।
महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी ‘धुलोरहित काठमाण्डाै’ योजनालाई कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । यस योजनाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रुपैयाँ विनियाेजन गरेकाे उपमेयर डंगाेलले जानकारी दिनुभयाे ।
यस्तै सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारीरूपमा सञ्चालन गर्न २५ करोड रुपैयाँ विनियोजन गरिएकाे छ ।







