काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् ।
सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आवश्यकताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने बताए। उनले नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको उल्लेख गर्दै त्यसभन्दा बाहिर कोही पनि जान नमिल्ने बताए।
सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै यसलाई लिन नहुने उनको तर्क छ।
‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो। राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो, यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन। यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ । थापाले भने, ‘आज हामीलाई सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानुनलाई पनि मिचेर, थिचेर बलमिच्याइँ गरेर, दादागिरी देखाएर हामी कुनै निर्णय गर्छौँ । अदालतको पूर्ण पाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौँ । हामीले बलमिच्याइँ गर्यौँ । हामीले जे गरे पनि हुन्छ भन्ने सोच्यौँ।’
विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने उनको तर्क छ।
महामन्त्री थापाले नेपाली काँग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको टिप्पणी गरे । आजका युृवाहरूमा काँग्रेसप्रति निराशा हुनुको मुल कारण सत्ता र सरकारका लागि काँग्रेसले मरिमेट्नु रहेको उनको तर्क छ।







