काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लाग्नुभएको हो।
अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आउनुभएको छ। त्यस्तै बजेटमार्फत सरकारले विकासमा अवरोध पु-याइरहेका कतिपय नीतिगत अड्चन समाधानको नीति अख्तियार गर्ने अनुमान गरिएको छ।
सरकारले आफ्नो नीति तथा कार्यक्रममै पनि खर्च कटौती र अनावश्यक दायित्व सिर्जना नगर्ने उल्लेख गरेको थियो। त्यस्तै बजेटमार्फत कतिपय चालु खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुँदै छ।
बजेटका अङ्क अर्थमन्त्रालयले टुङ्ग्याइसकेको छ। यद्यपि अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेट वक्तव्य भने सोमबार बस्ने मन्त्रीपरिषद् बैठकपछि मात्रै प्रकाशनका लागि पठाइनेछ।







