काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेका रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएका छन् ।
मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार राष्ट्रपति पौडेलले उनीहरूको कैद साजय माफी दिएका हुन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा रेशम चौधरीको भने नाम उल्लेख छैन । मन्त्रिपरिषद्को बैठकले रेशमपत्नीसमेत रहेकी भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई बैठकमा सहभागी नगराएर रेशमसहितलाई आममाफी दिने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा टोपबहादुर बुढाको नाम मात्र उल्लेख छ ।
०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको अभियोगमा चौधरीले डिल्लीबजारको कारागारमा सजाय काटिरहेका छन् ।
जेठ २ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो ।
उच्च अदालतले चौधरीसहितलाई जन्मकैदको फैसला गरेको थियो ।