काठमाडौँ- सरकारले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएकाे छ । मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले तिलगङ्गालाई मानक विश्वविद्यालय तर्जुमाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।
यसैगरी बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्य पदमा प्राध्यापक श्रीराम रामकृष्ण, संगीता सिंह, प्राध्यापक पुष्करमान बज्राचार्य, प्राध्यापक सुजान फ्राटियार, प्राध्यापक नामपेर, प्राध्यापक सुर्दशनराज तिवारी, पदम ज्योति, लोचन ज्ञवाली, डा. सन्दुक रुईत र भानुप्रसाद आचार्यलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्री शर्माका अनुसार जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि झन्डै एक सय ८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि भएकाे छ ।







