काठमाडौँ- सर्वोच्च अदालतले रेशम चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गरेको छ ।
न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।
टीकापुर घटनामा उच्च अदालत दिपायलले चौधरीसहितलाई जन्मकैदको फैसला गरेको थियो ।
उक्त घटनाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले भने सफाई पाएका छन् । मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले उनीहरुलाई सफाई दिएको हो ।
‘पुनरावेदक प्रतिवादीमध्येका “विद्रोह” भन्ने सिताराम चौधरी र गंगाराम चौधरीको हकमा हेर्दा शुरू अदालतबाट साबिक मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योग तर्फ ऐ. १५ नं बमोजिम ५ (पाँच) वर्ष कैद सजाय गरेको मिति २०७५।११।२२ को फैसला सदर गरेको उच्च अदालत दिपायलको मिति २०७७।०९।०२ को फैसला मिलेको नदेखिदा उल्टी भइ निज प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ,’– फैसलामा भनिएको हो ।
०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको अभियोगमा चौधरीले डिल्लीबजारको कारागारमा सजाय काटिरहेका छन् ।
उनी टीकापुर घटनाका मुख्य योजनाकार मानिएका छन् ।







