काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँस्थित विभिन्न देशका कूटनीतिज्ञहरूसँग छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री दाहालले नेपालस्थित विभिन्न देशका राजदूत, दातृ निकाय र विकास साझेदार संस्थाका प्रमुखहरूसँग छलफल गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको पछिल्लो राजनीतिक विकासक्रम, आर्थिक अवस्था र वर्तमान सरकारका विदेश नीतिका प्राथमिकताबारे ब्रिफिङ गरेका थिए । देखा परिरहेका नयाँ चुनौतीहरुलाई सम्बोधन गर्न आफ्नो क्षमता निरन्तर रुपमा सुधार गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले २०७९ मा भएका स्थानीय र संसदीय चुनावले नेपालको लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्दै मजबुद् बनाएको बताए। उनले वर्तमान सरकार संक्रमणकालीन न्यायका बाँकी रहेका काम टुंगोमा पुर्याउन प्रतिवद्ध रहेको बताए।







