काठमाडौँ- सरकारले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सरुवा गरेको हो । भन्सार महानिर्देशक चक्रबहादुर बुढालाई पाँच महिनामा सरुवा गरेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाइएको छ । उनी गत मंसिर २९ गते भन्सार महानिर्देशकमा सरुवा भएका थिए ।
सरकारले १८ जना सहसचिवलाई ‘कामकाज गर्नेगरी’ भन्ने भाषा प्रयोग गरेर खटाएको छ । कामकाजको अर्थ तत्काल सरुवा नगरी काम मात्र गर्नेगरी सरुवा गरिएको हो । ६ जना सहसचिवलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
संघीय मन्त्री अमनलाल मोदीसँग मनमुटाव भएपछि सरुवा मागेका कमलप्रसाद भट्टराईलाई नागरिक उड्डयन मन्त्रालय सरुवा गरिएको छ । मन्त्री मोदीले भट्टराईलाई प्रशासन महाशाखाबाट हटाएपछि संघीय मन्त्रालय छाडेका हुन् । भट्टराईले सम्हाल्दै आएको जिम्मेवारी सहसचिव हेमराज तामाङलाई दिइएको थियो ।
कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा फाजिलमा रहेका ज्ञानेन्द्रप्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा सरुवा गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।








