काठमाडौँ – सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने प्रयासस्वरुप सोमबार संवैधानिक परिषद्को बैठक बोलाइएको छ । साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालत लामो समयदेखि कामु प्रधानन्याधीशको भरमा चलिरहेको भएपनि सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन । नेपाल बारले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि दवाव दिइरहेको बेला आज बोलाइएको संवैधानिक परिषद्को बैठकले सकारात्मक निर्णय लिने विश्वास लिइएको छ ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ साल फागुन १ गतेदेखि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन छ । जबरापछि कायममुकायमको भरमा अदालत चलिरहेको छ । यस अवस्थामा बारले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अविलम्ब थालनी गर्न माग गर्दै आएको हो । त्यसपछि वैशाख ४ गते प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।







