काठमाडौँ- संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ ।
प्रतिनिधिसभा बैठकको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने तालिका छ।
त्यसैगरी बैठकमा सभामुखले आफ्नो अनुउपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनय गर्ने तालिका छ। त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यतालिका छ।
बैठकको अन्तिममा अर्थमन्त्री डा प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी ९कर प्रस्तावबाहेक० माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
संसद् सचिवालयका अनुसार कार्यव्यवस्था समितिमा छलफल गरि यसलाई अन्तिम रुप दिने सचिवालयले जनाएको छ ।
संसद् सचिवलायले अधिवेशनमा बजेट पेस हुनुअघि नै सक्नुपर्ने प्रि–बजेट छलफलको तालिका तयार पारेको हो। प्रि–बजेट छलफल र नीति तथा कार्यक्रमपछि जेठ १५ मा बजेट पेस हुनेछ। त्यसपछि मन्त्रालयगत रुपमा छलफल हुने र विनियोजन विधेयक पास गर्ने कार्यतालिका छ। बजेट अधिवेशनले नियमित कामबाहेक कानुन निर्माणमा पनि ध्यान दिनुपर्ने माग प्रमुख प्रतिपक्षी दलको छ।
आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको संसद् सचिवालयले जनाएको छ।







