काठमाडौँ – रास्वपा सरकारमा नजाने भएको छ । आज बसेको बैठकले समर्थन फिर्ता लिँदै सरकारमा नजाने निर्णय गरेको हो ।
गत पुस १० मा नेकपा एमालेको प्रस्तावमा पुष्पकमल दाहाल प्रधानमन्त्रीको प्रस्ताव लिएर जाँदा रास्वपाले समर्थन दिएको थियो । त्यसको अर्को दिन रास्वपाका सभापति रवि लामिछाने दाहाल सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । र, प्रधानमन्त्रीलाई पुस २६ मा रास्वपासहित २७२ सांसदले विश्वासको मत दिएका थिए ।
तर, लामिछानेको नागरिकता बैध नभएको भन्दै परेको उजुरीमा सर्बोच्चको संवैधानिक इजलासबाट माघ १३ मा फैसला भएको थियो । फैसलाबाट उनको नागरिकता अवैध ठहर भएपछि पार्टी सभापति, सांसद र मन्त्री पद गएको थियो । रविको पद गएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाललले चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँदा रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।
त्यतिमात्र होइन उसले कांग्रेस उमेदवारलाई राष्ट्रपतिमा र जसपा उमेदवारलाई उपराष्ट्रपितमा समेत भोट हालेको थियो । आज बसेको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन एकसय ३१ दिन पछि फिर्ता लिएको हो ।







