काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौँपटक सरकार विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बुधबार नेपाली कांग्रेसबाट तीन मन्त्री थपिएका छन् ।
जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिँदैछन्।
किस्ताकिस्तामा मन्त्री नियुक्त गर्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । अझै खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालय नेतृत्वविहीन छन् ।
गएको चैत १७ गते सातौँपटक सरकार विस्तार हुँदा मन्त्रालयमा असन्तुष्टि जनाउँदै जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता त्यो मन्त्रालय रिक्त छ ।
खानेपानी मन्त्रालय पनि कांग्रेसले पाएको चर्चा थियो । तर, खानेपानी मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका छन् ।
कांग्रेसकातर्फबाट सरकारमा आठ मन्त्री सामेल भएका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले दुई मन्त्रालयले पाएको थियो । उसले शिक्षामन्त्रीमा नेता अशोक राईलाई पठाएको थियो । वन तथा वातावरण मन्त्रालय उसकै लागि छुट्याइएको बताइन्छ ।
बुधबारकाे गठबन्धन बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिनेबारे छलफल भएको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीकोतर्फबाट पठाउने मन्त्रीका विषयमा तयारी भइरहेको बताए ।
सरकारलाई समर्थन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिने वा सरकारमा जाने निर्णय गरिसकेको छैन । उसले निर्णय गर्न शुक्रबारसम्मको भाका राखेको छ । उसलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा नै आह्वान गरिसकेका छन् ।







