काठमाडौँ – हत्या मुद्दाका अभियुक्त एमाले सांसद लक्ष्मी महतो कोइरीले संघीय संसद् सचिवालयलाई दुईवटा पत्र लेखेर आफू बिरामी भएको जानकारी गराएका छन् ।
सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या मुद्दामा उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिँदा पनि सांसद बनिरहेका कोइरीले संघीय संसद् सचिवालयलाई दुई वटा पत्र लेखेर आफू बिरामी परेको जानकारी गराएका हुन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एमाले सांसद कोइरीले अनुपस्थितिको जानकारी पत्रमार्फत गराएको बताए । सभामुख घिमिरेले सांसद कोइरी अहिले निलम्बनको अवस्थामा नरहेको पनि बताए । आधिकारिक निकाय नेपाल प्रहरीबाट फरार रहेको पत्र प्राप्त भइनसकेकाले सांसद कोइरीलाई फरार रहेको भन्न नमिल्ने सभामुख घिमिरेको भनाइ छ ।
संविधानको धारा ८९ (घ) मा कुनै सांसद सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सांसद पदबाट मुक्त हुने व्यवस्था छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद निशा डाँगीले सभामुख घिमिरेलाई कोइरीको अवस्थाबारे जानकारी मागेकी थिइन् । उनले संविधानको व्यवस्थाबारे पनि ध्यानाकर्षण गराउँदै सभामुखको जवाफ मागेकी थिइन् ।
कोइरी २०७२ को मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।







