काठमाडौँ – गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदको समर्थन छ । पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रका सात र दीपक मनाङेको समर्थन छ ।
नेकपा माओवादीले १० चैतमा आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका खगराज अधिकारीले गत शनिबार प्रदेशसभा बैठकमा भएको मत विभाजनमा आवश्यक मत लिन असफल भएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एकजना सदस्य छन् भने एमालेका २२ राप्रपाका दुई रहेका छन्।
बहुमत सदस्यले समर्थन गरेपछि प्रदेश प्रमुखले उनलाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।







