काठमाडौँ – दुवईका लागि उडेको विमानमा उड्नासाथ समस्या देखिएको भए पनि पछि सबै ‘प्यारामिटर’ नर्मल रहेको भन्दै गन्तव्यतर्फ लागेको छ ।
काठमाडौँबाट अहिले बेलुका ९ बजेर २० मिनेटमा उडेको जहाजबाट ‘ठूलो आवाज’ आएको थियो ।
काठमाडौँका स्थानीयले ‘पड्किएको आवाज’ सुनेको बताएका छन् । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाका अनुसार जहाज उड्नासाथ समस्या आएको भन्दै अवतरणको अनुमति मागिएको थियो ।
त्यसपछि विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो ।
“उड्नासाथ जहाजमा समस्या आयो भनेर खबर आयो, केहीबेर होल्ड गरेपछि आफ्ना सबै प्यारामिटर चेक गरेर नर्मल देखियो भन्दै जहाज गन्तव्यतर्फ नै गयो । विमानस्थल स्रोतले दिएको जानकारीअनुसार आकस्मिक अवरतणको सबै तयारी पूरा गरिएको थियो ।
अन्य गन्तव्यतर्फबाट आएका जहाजलाई एकैछिन रोकेर फ्लाई दुवईको जहाज अवतरणको तयारी गरिएको थियो ।
पर्यटनमन्त्री सुदन किरातीले फ्लाई दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदै गरेको बताएका छन् ।
“फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदै छ । कोही चिन्ता नगर्नुहोला सबैलाई शुभयात्रा,” उनले भनेका छन् ।







