काठमाडौँ – काठमाण्डौ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीले शुक्रवार किताब बोकेर विद्यालय जानुपर्ने छैन तर उनीहरु नियमित समयमै विद्यालय जानेछन् । उनीहरुलाई अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान दिइनेछ ।
हरेक सामुदायिक विद्यालयले यो कार्यक्रम लागू गर्ने महानगरको भनाइ छ । कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई सञ्चालन गर्ने योजना छ । अहिले विद्यार्थी भर्ना अभियान चलिरहेको छ । काठमाण्डौ महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनका लागि महानगरले हरेक सामुदायिक विद्यालयलाई पत्राचार गरिसकेको छ । यसअघि विद्यालयले हरेक शुक्रवार एक बजेपछि अतिरिक्त क्रियाकलाप गर्ने गरेका थिए । यसलाई पूरा दिन गर्ने र सबै शुक्रवार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको हो ।
अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूहगत छलफलका क्रियाकलाप गर्दैै रमाउँदै कार्यक्रम सञ्चालन गरिनेछ । साथै खाना पकाउने, व्यक्तिगत र घर सरसफाइका कलासहित अन्य व्यावहारिक ज्ञानका विषय समावेश गरिनेछ ।
कार्यतालिका नै बनाएर शुक्रवार खेतबारीको स्थलगत अवलोकन पनि गराइनेछ । सुरुआती चरणमा सामुदायिक विद्यालयमा मात्रै कार्यक्रम सञ्चालन भए पनि पछि निजी विद्यालयमा पनि विस्तार गर्ने योजना रहेको महानगरले जनाएको छ ।
कार्यक्रम सञ्चालन गर्न महानगरले हरेक माध्यमिक विद्यालयलाई एक लाखका दरले बजेट वितरण गरिसकेको छ । काठमाण्डौ महानगरमा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्छन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।







