काठमाडौँ – सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौँ महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरलाई फोहोर उठाउन आदेश दिन माग गर्दै रिट दायर गरेका हुन् ।
स्थानीय तहहरुको समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बेवास्ता गरेका कारण तत्काल समन्वयका लागि परमादेशको पनि माग गरिएको छ। फोहोरका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगरले तत्काल फोहोर उठाउनुपर्ने रिटमा भनिएकाे छ । उक्त रिटमाथि मंगलबार सुनुवाइ हुने बताइएको छ।
संघीय सरकारले आफूसँग समन्वय नगरेको भन्दै मेयर साहले सिंहदरबार, बालुवाटार शितलनिवास लगायत विशिष्ठ कार्यालयको फोहर नउठाउन फोहर संकलन गर्ने कम्पनीलाई निर्देशन दिएपछि गत चैत २५ गतेदेखि फोहोर उठ्न सकेको छैन ।







