काठमाडौँ – नेपाली कांग्रेसका नेता एनपी साउद तेस्रोपटक मन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए ।
पराष्ट्रमन्त्री नियुक्त भएका साउदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
साउद पञ्चायतकालमा विद्यार्थी राजनीतिबाट उदाएका हुन् । त्यति बेला दलीय राजनीति प्रतिबन्धित थियो । ०३६ सालमा महेन्द्रनगर माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ सचिव भएर उनले राजनीति सुरु गरेका हुन् ।
साथै नन्दा चपाईंले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन्। उनी नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेकी हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योसँगै आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यसअघि उनले चैत १७ गते मन्त्रिमण्डल विस्तार गरेका थिए। अझै पाँच मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा छ।







