काठमाडौँ – महानगरपालिकाका मेयर बालेन शाहको धारणा अराजक रहेको सरकारले आरोप लगाएकाे छ ।
मन्त्रिपरिषद्को बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्ला दिनमा संघीय सरकारका विषयमा सामाजिक सञ्जालमा राखेको धारणा अराजक रहेको सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं महानगर प्रमुखले नीतिगत व्यवस्थाविपरीत फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक गरेकोमा त्यसलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाउने निर्णय पनि गरेकाे छ ।
“सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने भनेर जे जसरी उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,” उनले भनिन्, “त्यो अराजकता हो भन्ने विषयमा हामीले गम्भीररुपमा छलफल गरेका छौँ । त्यसैगरी उहाँको ध्यानाकर्षण गराउने कुरा पनि भएको छ ।”
काठमाडौँ महानगरले तीन दिनदेखि सिंहदरबार, शीतल निवास, बालुवाटारको फोहोर संकलन नगर्न निर्देशन दिएको छ। केन्द्र सरकारले आफूलाई आवश्यक समन्वय नगरेको भन्दै महानगर प्रमुख बालेन साहले फोहोर संकलनमा रोक लगाएका हुन्।







