काठमाडौँ – रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको निस्सा पेस गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । बुधबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा प्रारम्भिक सुनुवाइपछि सो आदेश भएको हो ।
“प्रत्यर्थी लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौं जहाँ भए पनि झिकाई नियमानुसार पेस गर्नु,” आदेशमा उल्लेख छ ।
इजलासले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन नपर्ने कारण महान्यायाधिवक्ता कार्यालयलगायत सम्बन्धित निकायसँग माग गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयले चैत ६ गते लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो । सो निर्णय बदर गर्न र मुद्दाको टुंगो नलाग्दासम्म लामिछानेलाई कुनै राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग गरिएको थियो ।
न्यायाधीश फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गर्दै लामिछानेको अमेरिकी राहदानीको निस्सा पेस गर्न आदेश गरेको छ ।







