काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कुहिने फोहोरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोस्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेशनमा एक स्थानबाट मात्रै कुहिने फोहोरबाट मल बनाउन सुरु गरेको कामपाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने कार्यको थालनी गरेको छ ।
परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहोर विसर्जन स्थान बन्चरेडाँडामा पनि सो प्रक्रिया सुरु गर्ने तयारी कामपाको छ । कम्पोस्ट मल बन्न एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ । टेकुका ती दुई स्थानका काम सफल भए उपत्यकाको अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गर्ने तयारी रहेको कामपाले जनाएकाे छ।
पटकपटक कुहिने फोहोर व्यवस्थापन गर्न समस्या झेलिरहेको कामपालाई विभिन्न स्थानमा कम्पोस्ट मल बनाउने कार्य विस्तार भएसँगै फोहोर व्यवस्थापनका लागि सहज हुने बताइएको छ । उपत्यकामा नै उत्पादन भएको कुहिने फोहोरबाट मल उद्योग सञ्चालन गर्ने र दीर्घकालीन फोहोर व्यवस्थापन स्थानमा थोरै मात्र फोहोर व्यवस्थापन गर्ने भने पनि स्थान अभावको कारण देखाउँदै उद्योग विस्तार गर्नेगरी कामपाले कुहिने फोहोरको व्यवस्थापन गर्न सकेको छैन ।
अहिले उपत्यकामा उत्पादन भएका सबै फोहोर अन्तिम फोहोर व्यवस्थापन स्थानमा लानुपर्ने अवस्था छ । कुहिने फोहोरको व्यवस्थापन गर्न सके सीमित फोहोर मात्रै अन्तिम व्यवस्थापन स्थलमा पुग्छ र सो स्थानको आयु लामो हुन्छ ।
हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिक्टन फोहोर बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिमाना गर्ने कानुनी व्यवस्था छ । ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ ।







