काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको गोरखापत्रले समाचार प्रकासन गरेको छ ।
तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्न सबै तयारी पूरा भइसकेको बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ ।
कार्यालयले गत माघमा जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । लामिछानेका अनुसार जनगणनाको विस्तृत विवरणमा सामाजिक अवस्था, देशको भाषा, अपाङ्गता भएका व्यक्ति, नागरिकको आर्थिक, रोजगारीमा संलग्न व्यक्तिहरूको अवस्था, बेरोजगार व्यक्तिको अवस्थालगायतका विवरण विस्तृत रूपमा आउनेछ । सङ्घ, प्रदेश र स्थानीय तहका छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।







